spontaneous Narayan Gopal

पूर्वस्मृतीका केहि मीठा पलहरु

शनिश्चरबार बैशाख २०, २०७७ गते लकडाऊनको सदुपयोग गर्दै अध्ययन कोठा को सरसफाई गर्ने शिलसिला मा मेरो दृष्टी पूरानो एलबम मा पर्यो/ नारायण गोपाल संग का दुइटा ऐतिहासिक तस्वीर मा आँखा पुग्यो/ मैले धेरै वर्ष अघि कान्तिपुर दैनिक लाई अन्तर्वार्ता दिएपछि अन्तर्वार्ता त छापियो तर म संग भएको धेरै जसो तस्वीर अन्तर्वार्ता लिने पत्रकार भाई ले फिर्ता गरेनन् / मलाई लागेको थियो म संग नारायण गोपाल को अब केवल सम्झना मात्र छ तर अहिले जे फेला पर्यो त्यो मेरो शौभाग्य थियो/ मेरी श्रीमती ज्योति को जाँगर न भएको भए सायद यो हात पर्ने थिएन/ 

मैले ऐतिहासिक तस्वीर भन्नु मा म  नारायण गोपाल संग भएकोले हैन/ सांस्कृतिक संस्थान बाट निवृत्त भएपछि उनि अक्सर घरमै हुन्थे/ पेमला भाउजु दिनभर अफिस जाने हुनाले कि त म अथवा उनि, हामी दुइ मध्ये जसलाई फुर्सद मिल्थ्यो एक अर्का को घर जान्थ्यौं/ मलाइ धेरै दिन देखि मनमा घोची राखेको थियो दिन भरी ईतिहास का पुस्तक हरु मात्र पल्टाएर घरमै बसी राख्यो भने उनको रक्सी को मात्रा अझ बढ्छ/ के गर्ने त? यो प्रश्न ले मलाइ कहिल्यै छाडेन/  त्रिभुवन विश्वबिद्यालय को नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा स्नातक डिग्री हासिल गरेका डोर बहादुर बिष्ट कार्यकारी प्रमुख र खासै कुनै डिग्री नभएका तर रास्ट्रिय, अन्तररास्ट्रिय स्तरमा ख्याती प्राप्त अद्ध्येता धनवज्र बज्राचार्य दुवै प्राध्यापक हुनुहुन्थ्यो र दुवै राष्ट्र का नीधि हुनुहुन्थ्यो / सोंचें, यो देशमा अर्को नारायण गोपाल अब कैले जन्मिने हो, यत्रो महान हस्ती को लागि पनि त्रि.वि.मा एउटा उचित ठाउँ किन न खोज्ने? लामो सांगीतिक यात्रा मा वहाँ ले आर्जन गर्नु भएको ज्ञान संस्थागत हिसाब ले बाड्न सकियो भने सांगीतिक ईतिहास मा नारायणगोपालको योगदान पनि एउटा कोसेढुङ्गा हुनेछ/  मैले सोंचें म पहिले त्रि.वि का पदाधिकारी संग कुरा गर्छु अनि हरियो संकेत पाएपछि मात्रै नारायण संग कुरा गर्छु/ 

मैले उपकुलपति महेश कुमार उपाध्याय, रेजिस्ट्रार प्रा. डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना र अफिसर-अन-स्पेसल ड्युटी स्वर्गीय प्रा. विष्णु प्रसाद शर्माकोपिलसंग कुरा गरें/ केही दिन, दुइ चार पटक छलफल गरे पछि वहाँ हरु ले यसलाई स्वीकार मात्र गर्नु भएन, मेरो प्रस्ताव लाई प्रशंशा समेत गर्नु भयो/ यो मेरो लागि एकदम सुखद क्षण थियो/ नारायणगोपाल अप्ठेरो मान्छे त हो तर म संग को सामिप्य को कारण मलाई विश्वास थियो यो  प्रस्ताव  मैले वहाँ सामू राखेंभने यसमा कुनै अड्चन आउने छैन/ तर पनि कता कता शंका नभएको त हैन, त्यसैले उनलाई जरूरी काम छ भनेर पदाधिकारी हरु संग कुरा भएको भोली पल्ट म बस्ने प्राध्यापक आवास गृह कीर्तिपुर मा बोलाएँ/ भनेकै समयमा उनि आई पुगे/ मैले प्रस्ताव राखें/ अनुहारमा खासै परिवर्तन त देखिन तर केहीबेर पछि उनले अकस्मात नियुक्ती  पछि के-के गर्न सकिन्छ होला भनेर म संग धेरै कुरा गरे/ 

हामी दुई को सल्लाह अनुसार हामीले नै प्रस्ताव गरेका कार्यक्रम को आधारमा टर्म्स अफ रेफरेन्स पनि बन्यो र नारायण ले नियुक्ती पत्र पनि पाए/ उनकै ईछ्या अनुसार दरबन्दी  ललितकला क्याम्पस मा भयो/ केही दिन क्याम्पस मा आउने-जाने गरेपछि हामी तीन जना – म, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय का परीक्षा नियन्त्रक नरेन्द्र बहादुर महर्जन, र नारायण मुलुकका आठ दस वोटा जिल्ला हरुको भ्रमण मा निस्कने भयौं/ नरेन्द्र जी र मलाई त्रि.वि ले विभिन्न क्याम्पस मा आफ्नै किसिमको जिम्मेवारी दिएको थियो भने नारायण गोपाल लाई आफ्नो कार्य छेत्र अनुसार मुलुक का विभिन्न स्थानमा उपलब्ध हुनसक्ने र लोप हुँदै गएका राष्ट्रको विबिध  सांस्कृतिक र सामाजिक परम्परा झुल्किने गीत र संगीत को जानकारी जुटाऊनु थियो/ हामी तीन जना संगै बसेको तस्वीर त्यही यात्रा को बेला बाटो मा जंगल को बीच मा थकाई मार्दा को हो/ 

narayan gopal

नारायण गोपाल ललितकला क्याम्पस का आफू नगीज का केही कलाकार साथी हरु संग चेस खेल्दा जति रमाऊँथे त्यतिनै कीर्तिपुर मा मेरो प्राध्यापक आवास गृहमा वर्ष को दुइचार पटक तास खेल्न मन पराऊँथे/ उनको स्वास्थोपचार मा  सबै तिर बाट सक्दो प्रयास गरिसकिएको थियो/ हामीले अब उपचार हुनसक्ने खासै आश गरेका थिएनौ/ हिंडडूल गर्न प्रायः छाडी सकेका थिए/ साँझ अकस्मात फोन गरेर लिन आउनु पर्यो, केही साथी पनि खोजी राख्नु आज तास खेल्ने मूड छ भने/ त्यो बेला आकस्मिक हिसाब ले जो-जो भेटिए तिनलाई खबर गरें र नारायण गोपाल लाई लिन गएँ/ तस्बीर कसले कतिबेला खिच्यो, सम्झना छैन/ हुनत आठ दस जना थियौं तर देखिएका व्यक्ति मध्ये म लगायत प्राध्यापक देवेन्द्र छेत्री, पृथ्वी राज लिगल, नारायण गोपाल र महेश कुमार उपाध्याय हुनुहुन्थ्यो/ यो तस्बीर चर्चा गर्नु पर्ना को उद्देश्य एउटै थियो किनभने यो ऐतिहासिक घटना थियो, सम्भवतः नारायण गोपाल मृत्यु शैया मा ढल्नु पन्ध्र बीस दिन अघिको मात्र थियो/ तस्बीर खिची सकेपछि उनले भनेको शब्द मलाई अझै याद छमैले बुझेको छु, किन अकस्मात तिमी हरुले अहिले यो तस्बीर खिच्यौ?’               

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *